Logo

नारायणी नदीले पुन: खतराको तह पार गर्‍यो



चितवन, २१ असोज । नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ ।

आज बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११:५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।

यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्