झापा, ६ वैशाख । नारी सञ्चार गृह झापाले नेपालको पहिलो सम्पादक महिला साधना प्रधानको सम्मानमा स्थापना गरेको ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट अग्रज पत्रकार सावित्रा दाहाल पुरस्कृत भएकी छन् ।
बिर्तामोडमा आज आयोजित एक समारोहमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले रु एक लाख एक हजार एक सय राशिसहितको सो पुरस्कार दाहाललाई प्रदान गरे । जनज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी दाहालले जनसंसद्, पूर्वाञ्चल, लोकतन्त्र, पूर्व सन्देशलगायतका विभिन्न पत्रपत्रिकामा कलम चलाएकी छन् ।
यसैगरी, नारी सञ्चार गृह झापाले नै स्थापना गरेको ‘नारी सञ्चार युवा पत्रकारिता पुरस्कार’बाट पत्रकार शुष्मा राजवंशी सम्मानित भएकी छन् । यो पुरस्कारको राशी रु २५ हजारको रहेको छ । उनी रेडियो साथीको प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन् ।
झापाका पत्रकार महिलाहरूले रु ३२ लाखको अक्षयकोष स्थापना गरेर त्यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा उल्लेखित दुई वटा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नारी सञ्चार साधना पत्रकारिता पुरस्कार पत्रकार महिलाले पाउने मुलुककै सबैभन्दा बढी नगद राशिको सम्मान हो । यो पहिलोपटक वितरण भएको छ ।
पुरस्कृत पत्रकार दाहाल विगत डेढ दशकदेखि झापामा रहेर पत्रकारितामा संलग्न छन् भने राजवंशी एक दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री सिटौलाले महिलालाई पत्रकारितामा टिक्न गाह्रो भएको अवस्थामा नारी सञ्चार गृहले पुरस्कृत गरेर पेसामा रहिरहन प्रोत्साहन दिएको बताए । उनले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि तालिम केन्द्र स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने बचन दिए ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरेले समाजको रूपान्तरणमा पत्रकारिता जगत्ले खेल्दै आएको अहम् भूमिकाका कारण यसप्रति जनताले ठूलो भरोसा राखेको बताए ।
झापामा पत्रकारिताप्रति महिलाको आकर्षण बढाउन र त्यसका लागि सङ्गठित क्रियाकलाप गर्नका लागि नारी सञ्चार गृहको गठन गरिएको गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले बताए ।
नयाँ नेतृत्वलाई पद हस्तान्तरण
नारी सञ्चार गृह झापाको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई आज पद हस्तान्तरण गरिएको छ । अधिवेशनबाट रेजिना रोदनको अध्यक्षतामा नयाँ समिति गठन भएको थियो । आजै भीमा शिवाकोटी नेतृत्वको समितिले रोदन नेतृत्वको नयाँ समितिलाई माइन्यूट हस्तान्तरण गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष रोदनले आगामी दिनमा गृहले पत्रकार महिलाको क्षमता वृद्धिका लागि सम्झन लायक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।







