बिर्तामोड, भदौ १८ । झापाली सञ्चारकर्मीहरुको साझा संस्था नारी सञ्चार गृहले १२ औँ स्थापना दिवस मनाएको छ ।
आज बिर्तामोडस्थित कार्यालयमा संस्थाले सदस्यहरुको अनुभव साटेर स्थापना दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल तथा संस्थापक सदस्यहरु भवानी क्षेत्री, कोपिला खड्का, इन्दू पूर्वेलीलगायतले संस्था स्थापना गर्दा भोग्नुपरेका दु:ख तथा चुनौतीहरु सुनाएका थिए ।
झापाली पत्रकार महिलाहरुको वृत्ति विकास तथा क्षमता अभिबृद्धिका लागि संस्थाले स्थापना गरेको अक्षय कोषको लक्ष्य पूरा गर्न सबै सदस्यहरु एकजुट हुनुपर्ने उनीहरुको धारणा थियो । कोषमा हाल ३५ लाख रुपैयाँ जम्मा रहेको छ भने ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
कार्यक्रम संयोजक विनिशा शर्माले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मायामितु न्यौपानेले गरेकी थिइन् ।







