Logo

निगमले किन घटाएन डिजेलको मूल्य ?



काठमाडौँ, ५ मंसिर । इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन । डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपैयाँ घाटा भएको भन्दै निगमले मूल्य नघटाएको हो ।

मूल्य घटेर आउँदा निगमलाई डिजेलमा ३४ करोड रुपैयाँ नाफा भए पनि ग्यासमा ३४ करोड नै घाटा रहेकाले मूल्य समायोजन नगरेको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक बिरेन्द्र गोईतले बताए । डिजेलको मूल्य घटेर आएकाले घटाउनु पर्ने उपभोक्ताको माग रहेको छ । आईओसीबाट हरेक १५–१५ दिनमा नयाँ मूल्य आउँछ । त्यसका आधारमा मूल्य निर्धारण हुन्छ । निगमलाई आईओसीबाट प्राप्त मूल्यमा २३ करोड नाफा रहेको छ ।

सरकारलाई ऋण तिर्न बाँकी रहेकाले घाटा पूर्ति गर्न मूल्य समायोजन नगरेको निगमका नायब कार्यकारी निर्देशक गोइतले बताए । निगमका अनुसार सरकारलाई ७० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले गत महिना ग्यासको मूल्य सिलिन्डरमै २ सय १५ रुपियाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ, पेट्रोलमा २ रुपैयाँ र हवाई इन्धनमा ८ रुपियाँ बढाएपछि चौतर्फी आलोचना भएसँगै मूल्य वृद्धि फिर्ता लिएको थियो ।

सरकारले मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिए पछि स्वचालित मूल्य प्रणाली रोकिएको थियो । अहिले झापा चारआली, विराटनगर, जनकपुर, बारा अमलेखगन्ज, भैरहवा भलबारी, नेपालगन्ज, धनगढी, वीरगन्जमा पेट्रोल लिटरको १ सय ६९ रुपैयाँ ५० पैसा, डिजेल लिटरको १ सय ६५ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यसैगरी सुर्खेत र दाङमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ, डिजेलको १ सय ६७ रुपैयाँ, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल लिटरको १ सय ७२, डिजेलको १ सय ६८ रुपैयाँ रहेको छ । यो मूल्य यथावत् रहेको निगमले जनाएको छ ।

आइओसीबाट मूल्य घटेर आएकाले निगमले मूल्य घटाउन सक्ने भन्दै पेट्रोल पम्प सञ्चाकलले कम तेल उठाएका छन्। यसले गर्दा बजारमा तेलको आंशिक अभाव देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्