Logo

निजामति कर्मचारीद्वारा सिंहदरबारमा साङ्केतिक धर्ना



काठमाडौँ, २१ वैशाख । निजामति कर्मचारीहरुले सिंहदरबारमा साङ्केतिक धर्ना दिएका छन् ।

बिहीवार सङ्घीय निजामति कर्मचारी सेवा ऐनको माग गर्दै निजामति कर्मचारीहरुले सिंहदरबारको दक्षिण गेटमा साङ्केतिक धर्ना दिएका हुन् ।

उनीहरुले सङ्घीय निजामति ऐन जारी नगरे वैशाख २४ गतेदेखि आन्दोलन झनै चर्काउने चेतावनी दिएका छन् । उनीहरुले यही २४ गतेसम्म पनि सरकारले आफूहरुका मागलाई चासो नदिए सिंहदरबारको काम ठप्प बनाउने र देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निजामति कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभात साहले सङ्घीय निजामति ऐन तत्काल जारी गर्न माग गर्दा सरकारले बेवास्ता गरेकाले बाध्यतावश विरोधमा उत्रिनुपरेको बताए ।

उनले सङ्घीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय निजामति सेवा ऐन जारी गर्न साङ्केतिक रुपमा आन्दोलन गरेको बताएका छन् ।

उनले भने, ‘हामीले सङ्घीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय निजामति सेवा ऐन जारी गर्न साङ्केतिक रुपमा आन्दोलन गरेका हौँ । हामीहरुले कार्यालय प्रवेश नगरि साङ्केतिक आन्दोलन गरेका हौँ । यो कुरा सरकारले मानेन भने २४ गते फेरि बैठक बसेर कडा आन्दोलन गर्नेछौँ । आवश्यक परे हामी देशभर आन्दोलनको आह्वान गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्