Logo

निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीक: प्रधानमन्त्री



काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् ।

उनले भने, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो तथा संवेदनशीलताको कदरले असल छिमेकी सम्बन्धको आधार बनाउँछ ।” प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तारितै हुँदै गएकामा खुसी व्यक्त गरेका हुन् ।

चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निजामती अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विस्तारित र स्तरोन्नति पूर्वाधार र सुविधाले अस्पतालले राम्रो उपचार तथा सेवाको खोजीमा रहेका बिरामीलाई सहज सेवा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले भने, “म यस अस्पताल र स्तरोन्नति र पुन: निर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।” नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “हामीलाई प्राप्त सहयोग विकास पूर्वाधार निर्माण गर्न सम्पर्क सञ्जालको विस्तार तथा नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन धेरै सहयोगी रहँदै आएको छ ।”

प्रधानमन्त्रीले निजामती अस्पताल दुई देशबीचको दशकौँदेखिको घनिष्ट सम्बन्धको प्रतीकका रूपमा पनि उभिएको उल्लेख गरेका थिए । स्वास्थ्य पूर्वाधार सिर्जना एवं विस्तार गर्न र स्वास्थ्य संस्थामा आवश्यक उपकरण र चिकित्सा सहयोगका लागि चीन सरकारले उपलब्ध गराएको चीनको सहयोग सह्रानीय रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्