Logo

निजामती विधेयकको समेत चापलाई ध्यान दिँदै बिदाबाहेक सबै दिन सदन चलाउने निर्णय



काठमाडौं, १० वैशाख । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ।

बजेट अधिवेशन सुरु हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको छ । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो ।

वैशाख १२ गते बस्ने कार्य व्यवस्था परामर्श समितिले त्यसअनुसारको क्यालेन्डर बनाउनेछ ।

घिमिरेले सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्व बजेट छलफल तथा बजेटको चापको अवगत गराउनु भएको थियो। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको उहाले बताउनुभयो ।

‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौँ । समितिको प्रतिवेदन आए लगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरु गर्छ’, घिमिरेले भन्नुभयो ।

निजामतीलगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्नेमा पनि उहाको जोड छ ।

प्रतिक्रिया दिनुहोस्