काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् ।
बीसौँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले विधेयक संसद्मा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गरेका थिए ।
उनले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित र उच्च मनोबलयुक्त, निष्पक्ष, पारदर्शी, परिणाममुखी, जवाफदेही, स्वच्छ, सक्षम र प्रविधिमैत्री बनाई निजामती प्रशासनलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, “देशका ठूला राजनीतिक परिवर्तनमा तपाईं निजामती कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहिआएको छ, देशको विषम परिस्थितिमा राज्य सञ्चालनदेखि विकास निर्माण सेवा प्रवाह र सङ्क्रमणकालीन व्यवस्थापनमा निजामती प्रशासनले पुर्याएको योगदान महत्वपूर्ण छ, त्यसका निम्ति तपाईंहरू सबै प्रशंसाको पात्र हुनुहुन्छ ।”
उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक न्याय, सुशासन, र समृद्धिका एजेन्डामा लैजाने सरकारको अहिलेको मुख्य कार्यभार रहेको बताउँदै राजनीतिक परिवर्तनका निम्ति सङ्घर्ष गरेका जनतालाई शासन व्यवस्थामा आएको परिवर्तनको लाभांश दिनुपर्ने जिम्मेवारी र चुनौती दुवै रहेको बताए ।
“यसो हुन सके मात्रै लोकतन्त्र बलियो हुन्छ, राज्यप्रति नागरिकको भरोसा र विश्वासमा पनि अभिवृद्धि हुँदै जान्छ, सामाजिक न्याय सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही काम गर्नु पर्दछ र गर्दै आएको पनि छ”, उनले भने ।







