Logo

निजी क्षेत्रको सहकार्य बिना समृद्धि सम्भव छैन: प्रधानमन्त्री



बुटवल, २५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताएका छन् ।

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उनले स्पष्ट पारेका थिए ।

प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवर्द्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताए ।

“म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु”, उनले भने, “कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ ।” उनले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताएका हुन् ।

उनले बुद्धको जन्मस्थल लुम्बिनी जस्तो महत्वपूर्ण स्थानमा केबलकार तथा पाँचतारे होटलसहित पर्यटकीय संरचना निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको बहुआयामिक विकासका निम्ति भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने जानकारी दिए ।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग-व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सञ्चालन गर्ने निर्णय गरिएको र यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले उच्च मुद्रास्फीति र अस्थीर ब्याजदरले असर पारेको भन्दै यसका लागि सरकारले उपयुक्त कदम चाल्ने विश्वास दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्