Logo

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ: प्रधानमन्त्री



काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग-व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उनले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताएका हुन् ।

“हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ”, उनले भने, “निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट छु । निजी क्षेत्रलाई बन्देज लगाउने वा नकारात्मक प्रभाव पार्नेगरी कुनै पनि कानुन बनाउँदैनौँ ।”

निजी क्षेत्रलाई समेत राज्यको मर्यादाक्रममा समावेश गर्नेगरी सरकारले छलफल अगाडि बढाएको प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । उनले भने, “मैले तपाईँहरूको साधारणसभामा नै भनिसकेको छु निजी क्षेत्रलाई पनि मर्यादाक्रममा समेटिन्छ । निजी क्षेत्रलाई मर्यादाक्रममा समेट्न कुनै अप्ठ्यारो छैन । मर्यादाक्रम निर्धारण कसरी गर्ने भन्ने विषयमा मात्र हाम्रो ध्यान छ ।”

प्रधानमन्त्री दाहालले भर्खरै सम्पन्न साधारणसभाबाट कुशल नेतृत्व आएको र नयाँ कार्यसमितिले अर्थतन्त्रका चुनौती सम्बोधन गर्न सरकारसँग बलियो सहकार्य गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्