
विराटनगर, १६ असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको आज उद्घाटन कार्यक्रममा उनले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री राईले राष्ट्रियताका लागि मुलुक आर्थिकरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिँदै यसका लागि निजी क्षेत्रलगायत सबैसँग हातेमालो गरी सरकार अगाडि बढ्ने धारणा राखेका थिए ।
उनले उत्पादन, पूँजी विकास र राजस्व सङ्कलनमा निजी क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै वर्तमान अवस्थामा राज्यले शासक नभई व्यवस्थापनको भूमिका निर्वाह गरिरहेको र मुलुकको समृद्धिमा निजी क्षेत्रको भूमिका वृद्धि भइरहेको बताए ।







