काठमाडौं, ११ असार । भारतबाट निजी गाडीमा लागूऔषध ओसार पसार गर्ने चारजना कारोबारी पक्राउ परेका छन् ।
बुधवार दिउँसो १२ बजेको समयमा भद्रपुर नगरपालिका-७ स्थित आनी होटेल रोड अगाडिबाट एउटा कारसहित चारजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए। पक्राउ पर्नेहरू जिल्ला नुवाकोट, बेलकोटगढी नगरपालिका-१३ का ३१ वर्षीय साजन तामाङ, सोही ठाउँका ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दीपेश लामा र बेलकोटगढी-११ का २३ वर्षीय राम तामाङ रहेका छन्।
उनीहरूलाई बुधवारै प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर लोककृष्ण दाहालको कमान्डमा खटिएको टोलीले भारतबाट ब्राउन सुगर खरिद गरी काठमाडौंतिर फर्किँदै गरेको बा।प्र।०१-३-च ०८७७ नम्बरको हुन्डाई कम्पनीको क्रेटा कार चढी गइरहेको अवस्थामा उनीहरूलाई रोकेर चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा गाडीभित्र रहेको झोलाबाट २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर (लिसाइलो पदार्थ) फेला परेको थियो।
यसअघि असार ७ गते बा प्र ०१–०३० से ७७९३ नं. को नेटा इभीमा ४७ ग्राम ६९० मिलिग्राम लागूऔषध ब्राउनसुगर ल्याउँंदै गरेको अवस्थामा काठमाण्डौ वडा २६ बस्ने वर्ष २४ का निवेश कुँवर र लम्जुङ कोलासोतार वडा नं. ७ बस्ने वर्ष २२ की नोजिना रानालाई कारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।
त्यस्तै गत बैशाख ३१ गते गौरीगंज गाउँपालिका वडा नं. ३ गौरीगंज बजारबाट लागूऔषध कारोबारमा संलग्न दमकका भुपेन्द्र राई, भारत बस्ने भोला ठाकुर र मोनाजिर आलमलाई १०० ग्राम ०९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको थियो । उनीहरुले सो अवैध कार्यका लागि ना. १ च ९१६२ नम्बरको हुन्डाई १०० कार र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेका थिए ।