Logo

नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेकाे छ: डा.वाग्ले



काठमाडौँ, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताएका छन् ।

आज शुक्रवार डा.डिल्लीराज खनालले वैदेशिक सहयोगको प्रभावकारितामा आधारित रहेर लेखेको पुस्तक विमोचन कार्यक्रममा सांसद वाग्लेले नेपालमा नीतिगत ‘सेटिङ’ का आधारमा नियुक्तिसमेत किनबेच हुने गरेको बताएका हुन् ।

उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्ने बताए । वैदेशिक सहायता दिने निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने उनको भनाइ छ ।

सांसद वाग्लेले अहिले कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने काम भइरहेको दाबी गरेका थिए । उनले ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताएका छन्

उनले भने, ‘देशै भताभुङ्ग भएको बेलामा केहीले त बाँध्नुपर्‍यो नि । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने) ,संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छौँ । बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला? जहाँ सहयोग चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्