काठमाडौँ, ३ चैत । होलीलाई व्यवस्थित बनाउन भन्दै बिहानैदेखि काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहानैदेखि ट्राफिक नियम पालना नगर्नेलाई कारबाही थालिएको छ । लापर्बाही गरेर गाडी चलाउनेहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न थालेको छ ।
बिहानदेखि अहिलेसम्म ट्राफिक नियम पालना नगर्ने ११२ वटा मोटरसाइकल र चार वटा चारपाङ्ग्रे गाडीलाई होल्ड गरिएको महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए ।
तीव्र गतिमा गाडी चलाउने, जाँड रक्सी खाएर गाडी चलाउने, हेल्मेट नलगाइ मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्ने तथा ठूलो आवाजमा गाडी कुदाउनेहरुलाई कारबाही थालिएको उनले बताए ।
काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेर सुरक्षा जाँच गरिरहेको छ भने आजका लागि एक हजार ३ सय ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।