Logo

नियम बिपरित मोबाइल प्रयोग गर्दा ८९ रुसी सैनिकको मृत्यु



काठमाडौँ, २१ पुस । मोवाइल चलाउँदा युक्रेनी सेनाको क्षेप्यास्त्र प्रहारबाट ८९ रुसी सैनिकको मृत्यु भएको छ । युद्धमा आफ्ना सेनाको एक पटक यतिको संख्यामा रुसले मृत्यु स्वीकारेको यो सबैभन्दा उच्च सङ्ख्या हो । मस्कोले आफ्ना फौजले नियम तोडेर मोबाइल फोन चलाउँदा आक्रमण भएको जनाएको छ ।

अधीनस्थ डोनेत्स्क क्षेत्रमा पर्ने म्याकिइभका सहरमा युक्रेनी हमलामा ४०० रुसी सैनिकहरू मारिएको र अन्य ३०० जति घाइते भएको किएभले दाबी गरेपनि मस्कोले ८९ जनाको मृत्यु भएको स्वीकार गरेको छ ।

रुसी अधिकारीहरूले धेरै जनाले मोबाइल फोनको प्रयोग गर्नुले शत्रुलाई उनीहरूको अवस्थिति थाहा पाउने मौका दिएकोु जनाएका छन् । नयाँ वर्षको दिन मस्को समय अनुसार रातको १२ बजेर १ मिनेट जाँदा अमेरिकामा बनेका हाइमार्स रकेट प्रणालीबाट ६ वटा क्षेप्यास्त्र प्रहार भएकोमा दुई वटा खसालिएको रुसले जनाएको छ ।

एक सीपमूलक क्याम्पस भवनलाई लक्षित गरिएको उक्त प्रहारको केही क्षणअघि रुसी टेलिभिजनमा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना दिएका थिए ।

रुसी रक्षा मन्त्रालयले बुधवार एक विज्ञप्तिमा जनाए अनुसार त्यहाँस्थित रेजिमेन्टका सहायक कमाण्डर समेत मारिने मध्येमा छन् । मन्त्रालयको विज्ञप्तिमा उक्त घटनाका परिस्थितिहरू अनुसन्धान गर्नका लागि एक समिति गठन गरिएको जनाइएको छ ।

तर, हमलाको मुख्य कारण युक्रेनी अस्त्रहरूको दायराभित्र मोबाइल फोनहरू रहनु र त्यसको व्यापक प्रयोग रहेको कुरा प्रस्ट भइसकेको जनाइएको छ ।

लेफ्टिनन्ट जेनरल सर्गेई सेभर्युकोले यसका लागि ‘जिम्मेवार अधिकारीहरूलाई कानुनी दायरामा ल्याइने र तत्कालका लागि भविष्यमा यस्तो दुखद घटना घट्न नदिनका लागि सबै उपाय चालिने’ बताए ।

म्याकिइभकामा ज्यान गुमाउनेको सम्झनामा एक शोकसभामा मानिसहरु जुटेका थिए । रक्षा मन्त्रालयको विज्ञप्ति दुईवटा कारणले अर्थपूर्ण देखिन्छ । विज्ञप्तिमा जिम्मेवार अधिकारीहरू भनिनुले त्यहाँ केही गल्ती भएको सङ्केत गर्छ ।

आफूबाट गल्ती भएको कुरा उनीहरूले बिरलै स्वीकार्ने भएकाले यो मस्कोले प्रस्तुत गरेको निकै अस्वाभाविक व्यवहार हो । रुसी सेनाले यसअघि ६३ जनाको मृत्यु भएको बताउँदा समेत त्यो युद्ध सुरु भए यताको एकै घटनामा मस्कोले स्वीकारेको उच्च सङ्ख्या थियो । अहिले मस्कोले ८९ जनाको मृत्यु भएको स्वीकारेको छ।

म्याकिइभकामा भएको मृत्युको वास्तविक सङ्ख्या युक्रेन र अनौपचारिक रुसी स्रोतहरूले दाबी गरेझैँ निकै उच्च हुनसक्छ । बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्