Logo

निर्धक्क भएर मतदान गर्न अनुरोध



काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आज महत्वपूर्ण दिन हो ।

निर्वाचनकै इतिहासमा पहिलोपटक मतदाताको रुपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले पनि मतदान गर्ने अवसर पाएका छन् । “यो दिनलाई राष्ट्रिय उत्सवका रुपमा ग्रहण गरी सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन अपिल गर्दछु ।” प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।

प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अधिकार निर्वाचनले प्रदान गर्छ ।

उनले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न आह्वान गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्ति एवं मन्त्रिपरिषद् सदस्यले सन्देश र अपिल जारी गर्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचन भएकाले आफ्नो मताधिकारको सदुपयोग गर्न आह्वान गरेका छन् ।

मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ र स्वतन्त्रबाट उठेका ३५ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले ३४ हजार ८३१ पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् ।

यसपटक निर्वाचनका लागि भनेर दर्ता भएका ७९ राजनीतिक दलमध्ये ६५ राजनीतिक दल चुनावी मैदानमा छन् । कूल ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै अवाञ्छित कार्य कहीँकतैबाट भएमा कानुनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आग्रह गरेका छन् ।

निर्धक्क भएर भोट हाल्न अनुरोध
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्धक्कका साथ भोट हाल्न निर्वाचन आयोगले आम मतदातामा अनुरोध गरेको छ । मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरिएको छ । निर्धक्क भएर मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदातालाई आग्रह गरेका छन् ।

निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले उत्साहजनक सहयोग गरिरहेको र आगामी दिनमा पनि सो सहयोगको अपेक्षा रहेको आयोगको भनाइ छ । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउनमा मिडियाको भूमिका महत्वपूर्ण रहने छ । आयोगका प्रवक्ता पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको बताए ।

बलियो छ सुरक्षा प्रबन्ध
एकैसाथ देशभर सुरु भएको स्थानीय तहको निर्वाचनको मतदानको दिन आज सरकारले बलियो सुरक्षा प्रबन्ध गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था गरी चुस्त र भरपर्दो बनाइएको छ ।

मुलुकभर दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको पहरा दिइरहेका छन् । उनीहरुले एकीकृत र छुट्टाछुट्टै निर्वाचन सुरक्षा रणनीति निर्माण गरेर चुस्त सुरक्षा व्यवस्था मिलाएकाले मतदान शान्तिपूर्ण रुपमा सुरु भएको छ ।

ती सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन भएको जनाउँदै कुनै अवाञ्छित घटना भएमा वा हुने सङ्केत मिलेमा नजिकका प्रहरी कार्यालयमा सूचना दिनसमेत आह्वान गरिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गरी सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्