Logo

निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु: लामिछाने



काठमाडौँ, ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलो निर्णयका रूपमा निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेको छैन ।

उनले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएको बताउँदै आफूलाई यही मन्त्रालय रोजेको प्रतिक्रिया दिए । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयको बारेमा सबैभन्दा धेरै गुनासो आउने गरेको उनले सुनाए । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उनले बताए ।

मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । स्वतन्त्र भएर त्यो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्