झापा, २२ पुस । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणधिन नगर अस्पताल भवनको आज अनुगमन गर्नु भएको छ ।
नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना आचार्य, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी सहित भवनको अनुगमन गर्नु भएको हो ।
नगर प्रमुख प्रसाईले सम्झौता अवधि भित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले निर्माण सामाग्रीको गुणस्तरमा ख्याल गर्नसमेत सुझाब दिनु भएको छ ।
भवनको २०८० बैशाख ८ गते १५ करोड ३४ हजार ३ सय ३६ रुपैँयामा विभाष इन्टरनेश्नल कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि काठमाडौले सम्झौता गरेर काम गरीरहेको छ ।अहिलेसम्ममा ३५ प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनिका प्रतिनिधि सोम राईले जानकारी दिनुभयो । निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी फागुन २६ गतेसम्म छ ।
भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुने छ ।