काठमाडौं, १३ पुष । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुभएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनअघि स्वेच्छाले राजीनामा दिँदै उहाँले आफ्नो कार्यकाल समापन गर्नुभएको हो।
परम्पराअनुसार सभामुख र उपसभामुखको पदावधि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म कायम रहने प्रचलन रहे पनि उपसभामुख रानाले सो अवधिभन्दा अघि राजीनामा दिनुभएको हो। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची पेश गर्न आज र सोमबार समय निर्धारण गरेको छ।
यसै क्रममा सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनका लागि तोकिएको अघिल्लो दिन अर्थात् माघ ५ गतेदेखि बिदाइ हुने तयारी गर्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अघिल्लो निर्वाचनका बेला तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले पनि मनोनयनको अघिल्लो दिन बिदाइ लिनुभएको थियो। नेपालको संविधानको धारा ९१ को उपदफा ६ (क) अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा सभामुख र उपसभामुख निर्वाचनको उम्मेदवारी दर्ता गर्नुपर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था छ।







