Logo

निर्वाचनका निम्ति विचार मिल्ने शक्तिसँग गठबन्धन गर्छौं: भट्टराई



काठमाडौँ, २१ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्नुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन भएपछिको पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले आगामी चुनावी रणनीति तय गर्नुपर्ने बताएका हुन् ।

काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति बैठकमा भट्टराईले चुनावी रणनीति बनाउन लाग्नपर्नेमा जोड दिए । ‘एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिसँग मिलेर हुन्छ भन्ने विषयमा विचार विमर्श गरेर जानेछौं,’ उनले भने, ‘निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुछ ।’

भट्टराईले नयाँ पार्टीलाई देशव्यापी बनाउनका लागि नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । स्थानीय तहसम्म नै पार्टीलाई पुर्‍याउन र नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो । निर्वाचनको मुखमा गठन भएको पार्टीले कस्तो प्रदर्शन गर्ला भन्न नसकिने धारणा राख्दै उनले सत्तामात्रै नभएर सदन र सडकबाट पनि समाज परिवर्तनका लागि लाग्न आग्रह गरे ।

जारी केन्द्रीय समितिबाट नेपाल समाजवादी पार्टीलाई वैधानिकता दिइने र मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कोसँग तालमेल र गठबन्धन गर्ने भन्ने तय हुने भट्टराईले बताए । समावेशिता, सुशासन, समृद्धि हासिल गर्नका लागि आफूले अगाडि सारेको राजनीतिक एजेन्डा नै महत्त्वपूर्ण रहेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्