काठमाडौँ, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले देशमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आफ्नो एजेण्डा भएकाले नेपाली जनताले पुनः साथ दिने विश्वास व्यक्त गरेको छ ।
जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित परिवर्तनका कार्यसूचीलाई पूर्णता दिन पनि नेपाली जनताले आफूहरुलाई नै पुनः विश्वास गर्ने माओवादीको दाबी छ । स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा साझा उम्मेदवार टुङ्गो लगाउने चटारोका बीचमा माओवादीको केन्द्रीय प्रचार विभागले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन परिवर्तनकारी एजेण्डाको रक्षाका लागि स्थापना भएको, निर्वाचन संविधानको कार्यान्वयनका लागि आवश्यक रहेको तथा पूर्वमाओवादी घटक एक ठाँउमा आउन लागेका लगायतका सन्देश दिए ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेपछि संविधानको रक्षाका खातिर पाँच दलीय गठबन्धन निर्माण भएको अध्यक्ष दाहालको भनाइ छ ।
स्थानीय निर्वाचनमा संविधानको रक्षामा सामेल भएका दलहरुका बीच साझा मत कायम गरेर अघि बढ्ने भन्दै छलफल जारी छ । साझा उम्मेदवार चयन गर्न छलफलमा जुटेका दलहरुबीच समान धारणा बन्न सकिरहेको छैन । अध्यक्ष दाहाल भन्छन्, “एउटै दलभित्र सहमति जुटाउन गाह्रो भएकाले पाँच दलबीच सहमति जुटाएर साझा उम्मेदवार चयन गर्न समय लाग्नु स्वभाविक हो ।”