झापा, २५ पुष । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर विभिन्न सुरक्षा निकायको संयुक्त परिचालन गर्ने निर्णय गरेको जनाएको छ।
प्रशासनका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा म्यादी प्रहरी परिचालन गरिनेछ। यसै क्रममा निर्वाचन प्रहरीका लागि भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको छ।
निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा खटाइने म्यादी प्रहरी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको समन्वयमा छनोट गरिनेछ। भर्ना सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी माघ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
जिल्लाभर निर्धारण गरिएका मतदानस्थल र मतदान केन्द्रहरूको जोखिम मूल्यांकन गरी सुरक्षा योजना बनाइएको प्रशासनले जनाएको छ। केही मतदान केन्द्रलाई उच्च जोखिममा राखी त्यहाँ थप सुरक्षा सतर्कता अपनाइने भएको छ भने सामान्य क्षेत्रमा आवश्यकताअनुसार जनशक्ति परिचालन गरिनेछ।
यस निर्वाचनमा मतदान केन्द्रको संख्या अघिल्लो निर्वाचनभन्दा बढाइएको छ। यसले मतदाताको पहुँच सहज बनाउने विश्वास प्रशासनको छ।
प्रशासनले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल, उम्मेदवार र मतदातासँग सहयोगको अपेक्षा गरेको छ।







