काठमाडौँ, १३ चैत । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा मात्रै गठबन्धन गरिने बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताए । उनले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि बताए ।
प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताए ।
प्रवक्ता महतले भने, ‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आफ्नो आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ । आवश्यक्ताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषय मात्रै होइन, अब भोलिसम्म सबै साथीहरुले बोलिसकेपछि कुन खालको मोडालिटीमा कस्तो खाले ढाँचामा जान्छ भन्ने कुराको पनि निर्क्योल हुन्छ ।’