पोखरा, ६ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा तालमेल हुने बताएका छन् । माओवादी गण्डकी प्रदेश कमिटीले आइतबार पोखरामा आजोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनबीच आगामी निर्वाचनमा तालमेल हुने बताए ।
प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले आफ्नै बलमा निर्वाचनमा विजय हुने नै हो तर गठबन्धनलाई पनि सँगै लाने भन्ने सहमति भएको बताए । उनले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले परिवर्तनको पक्षका बीच आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् ।
प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएकाले उनीहरुको अभिव्यक्ति फरक आए पनि मुल नेतृत्वहरुसँग निर्वाचनमा गठबन्धनलाई नै लिएर जाने निर्णय भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि बताए । उनले भने,‘एमसीसीको विषयमा गहन अध्ययन गर्नुपर्ने भएकाले झलनाथ खनालको नेतृत्वमा संसोधन गरेर अगाडि बढ्न सकिन्छ भन्ने छलफलपछि नै एमसीसी पारित भएको हो ।
अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेका हौँ । अमेरिकाले पनि सिद्धान्ततः स्वीकार गरेको छ । यदि अमेरिकाले अस्वीकार गर्यो भने हामीले हात उठाउँन सक्छौँ ।’