काठमाडौँ, २४ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरूको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् ।
आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका उनले निर्वाचनमा कुनै दलले बहुमत ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भएपनि चुनावमा गठबन्धन गरेर जाने कुरा भने हुने नगरेको दावी गरेका थिए ।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाएका छन् ।







