Logo

निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रनुहोस्: अध्यक्ष ओली



सुनसरी, १८ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत हुन आग्रह गरे ।

उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्याउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका व्यक्ति सरिक नहुने बताए । अध्यक्ष ओलीले यस्ता गतिविधिमा प्रहरी प्रशासन र राष्ट्रसेवकहरू सारिक नहुने विश्वास व्यक्त पनि गरे ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले उक्त चुनावमा बाँकस साटेर एमालेको उम्मेदवार हराइएको स्मरण गर्न कार्यकार्तालाई आग्रह गरे ।

ओलीले एक वर्षमा गठबन्धन सरकारले मुलुकलाई बेहाल बनाइसकेको भन्दै आगामी चुनावबाट नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्