Logo

निर्वाचनमा पराजित धामी नै उत्तराखण्डको मुख्यमन्त्री हुने



काठमाडौँ, ८ चैत । भारतीय जनता पार्टीले उत्तराखण्डको विधानसभा निर्वाचनमा पराजित पुष्करसिंह धामीलाई मुख्यमन्त्री बनाउने भएको छ । उत्तराखण्डमा बिजेपीले बहुमत ल्याएपनि मुख्यमन्त्री धामी खटिमा सीटबाट निर्वाचनमा पराजित भएका थिए ।

बिजेपीले धामीलाई मुख्यमन्त्रीको रुपमा उम्मेदवार प्रस्ताव गरेको थियो । तर, निर्वाचनमा पराजय भएपनि धामीलाई बिजेपी संसदीय दलको नेता बनाइएको छ । धामी संसदीय दलको नेता भएपछि राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।

पश्चिम बंगालको अघिल्लो विधानसभा निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले नन्दीग्राम सीटबाट बिजेपीका सुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् । त्रिण मूल कँग्रेसले निर्वाचनमा बहुमत ल्याएकाले ममतालाई नै संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाएको थियो । त्यस बेला बिजेपीले ममताको त्यो कार्यको आलोचना गरेको थियो । तर, अहिले बिजेपीले नै बनर्जीको त्यही फर्मूला प्रयोग गरेको भनेर सञ्चारमाध्यम र सोसल मिडियामा आलोचना भएको छ ।

भारतका पाँचवटा राज्यमा भएको निर्वाचनमा चार राज्यमा बिजेपीले बहुमत ल्याएको छ भने पन्जावमा आम आदमी पार्टीले दुई तिहाई सिटमा विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्