काठमाडौँ, ६ भदौ । नेकपा एमालेले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मौन अवधि घटाउन आग्रह गरेको छ ।
निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता २०७९ सम्बन्धमा आफ्ना तर्फबाट सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घण्टा कायम गर्न आग्रह गरेको हो । आयोगको प्रस्तावित आचारसंहितामा मौन अवधि ४८ घण्टा छ ।
एमालेले सोमवार आयोगलाई निर्वाचन आचारसंहिताले चुनावको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थताजस्ता पक्षमा ध्यान दिइ निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने बनाउनुपर्ने सुझाव दिएको छ ।
निर्वाचन आचारसंहिता लागू हुने अवधि चुनाव घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने, उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि २५ जनाभन्दा बढीको जुलुस लान नपाइने लगायतको व्यवस्था हुने भएकाले त्यो व्यवस्था हटाउनुपर्ने तथा गलत मनसायले नियतवश चुनावमा बालबालिकाको प्रयोगलाई निषेध गर्नुपर्ने पार्टीले सुझाव राखेको छ ।







