काठमाडौँ, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट पालिका निर्वाचनमा सिट भागबन्डाको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेकपा (एकीकृत समाजवादी) सँग नेकपा (गौरवशाली)पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए ।
उनले भने ‘निर्वाचनमा हामी पाँच दल मिलेर जाने सोच बनाएका छौँ । महानगरपालिकामा, उपमहानगरपालिकामा अनि सबै पालिका र वडामा सिटको तालमेल कसरी मिलाउने? भनेर लागिरहेका छौँ । पालिका निर्वाचनमा सिट बाँडफाँटलाई लिएर अरूको शक्तिको अवमूल्यन गर्ने र उनीहरूमाथि अपमानपूर्ण ढङ्गको व्यवहार गर्ने काम भइरहेको जिल्ला जिल्लामा हुने गरेको रिर्पोटमा आएको छ । यो सैह्य हुँदैन । हामी अपमान सहनका लागि जन्मेका होइनौँ । अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ ।’