Logo

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँ: प्रमुख आयुक्त थपलिया



काठमाडौँ, ७ फागुन ।  ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ ।

विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गर्न आग्रह गरेका हुन् ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन: शान्ति, स्थिरता, समृद्धि र सुशासन’को मूलमन्त्रलाई आत्मसात् गर्दै आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ ।

वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवं राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार चार सय जनप्रतिनिधि निर्वाचित भएका आयोगले जनाएको छ ।

आवधिक निर्वाचनद्वारा बालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ ।

निर्वाचनका माध्यमबाट नेपाली मतदाताले गोप्य मतदानद्वारा आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता छ । वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्व:नियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो रहेको उनको भनाइ छ ।

राजनीतिक दल, आम मतदाता तथा सरोकारवालासँग यस विषयमा निरन्तर संवाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग संवेदनशील रहेको आयोगको भनाइ छ ।

विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचन ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी’ हुँदै आएको आयोगको दाबी छ । आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधारको पहल, निर्वाचनका क्रियाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार भइरहेको आयोगले उल्लेख गरेको छ ।

निर्वाचन व्यवस्थापन एवं नागरिक शिक्षामा समन्वय र सहकार्य तथा निर्वाचनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन यस अवधिका देखिने र अनुभूत गर्न सकिने उपलब्धि हुन् । निर्वाचन व्यवस्थापनमा अवलम्बन गरिएका अभ्यास, विधि, पद्धति र संयन्त्रबाट निर्वाचन प्रणालीका अन्तरनीहित चुनौतीका साथै सुधारका मार्ग पहिचान गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिसकिएको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्