Logo

निर्वाचन अग्रगमन र प्रतिगमनबीचको जनमतसङ्ग्रह ः प्रचण्ड



काठमाडौँ, १ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अग्रगामी र प्रतिगामी शक्तिबीचको जनमत सङ्ग्रहको रूपमा टिप्पणी गरेका छन् ।

आज उनले एक श्रव्यदृश्यमार्फत् आम मतदातालाई सक्रियतापूर्वक मतदानमा सहभागी हुन र देशभरका गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट व्यवस्था बदलेको भए पनि वर्ग, क्षेत्र, महिला, आदिवासी र जनजातीलगायतले प्राप्त गरेको अधिकार कार्यान्वयन गर्न बाँकी रहेकाले गठबन्धनको जीत जरुरी रहेको बताए ।

उनले सन्देशमा भने, “शिक्षा, स्वास्थ्य, रोजगारीमा जनताको पहुँच, आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत समृद्ध नेपाल बनाउने कार्यभार हाम्रो काँधमा छ । हामीलाई यही अवस्थामा रुमल्लिने छुट छैन ।”

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले आफ्नो सन्देशमा विकास, समृद्धि र न्यायको यो यात्राको नेतृत्व प्रतिगामी शक्तिले गर्न सम्भव नभए उल्लेख गर्दै यसका लागि परिवर्तनकारी शक्तिले नै सरकारको नेतृत्व गर्न जरुरी रहेको बताए ।

सन्देशमा प्रचण्डले भनेका छन् ,“प्र्रतिगमनलाई पारास्त गर्न, भ्रष्टाचार अन्त्य गर्न र समृद्ध नेपालको निर्माणमार्फत समाजवादको यात्रामा अगाडि बढन प्रत्यक्षतर्फ देशैभरी गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ गोलाकारभित्रको हसिया हथौँडा चिन्हमा मदतान गर्न हार्दिक अपिल गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्