काठमाडौं, १५ फागुन । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्रीवितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित सुरक्षा योजनाअनुसार आयोगले यस्तो प्रस्ताव अघि सारेको हो। सुरक्षा अवस्थाको समीक्षा, वस्तुस्थितिको आकलन तथा आवश्यक सिफारिसका आधारमा आयोगले गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिएको जनाएको छ।
आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई निषेध गरिएका कार्य रोक्न र उल्लंघन भएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।
सवारी सञ्चालनमा कडाइ
फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
यद्यपि एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध सञ्चालन हुनेछन्। दूरसञ्चार मर्मत, कूटनीतिक नियोगका सवारीसाधन र पास प्राप्त सवारीसाधनलाई पनि सहज आवतजावतको व्यवस्था मिलाइनेछ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म र त्यहाँबाट विमानस्थलसम्म जान आवश्यक व्यवस्था मिलाइने आयोगले जनाएको छ।
मतदानका लागि आवश्यक कागजात
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्।
त्यस्तै राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात देखाएर पनि मतदान गर्न पाइनेछ। मतदाता नामावलीमा नाम भएका नागरिकले तोकिएको कागजातसहित मतदान गर्न सक्ने आयोगले स्पष्ट पारेको छ।
मतदानको दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ खडा गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारी खटाइनेछन्।







