हेटौँडा, २५ वैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोपमा सहयक निर्वाचन पदबाट हटाएको छ ।
कार्यालयका अनुसार सहायक निर्वाचन अधिकृत पुडासैनी सामाजिक सञ्जालमा कुनै एक राजनीतिक पार्टीको प्रचारप्रसारमा प्रत्यक्ष संलग्न देखिएकाले उनलाई पदबाट हटाएको बताइएको छ ।
उक्त पदबाट हटाइएको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको समेत बताइएको छ ।
मकवानपुरगढी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट हटाइएको सो पदमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत मदन शिवाकोटीलाई पठाएको जानकारी प्राप्त भएको छ ।