काठमाडौं, ५ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणामसहितको समग्र प्रतिवेदन आज रामचन्द्र पौडेलसमक्ष पेश गर्ने तयारी गरेको छ।
बिहीबार बिहान समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि आयोगले दिउँसो राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यक्रम तय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन्।
प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुल्नेछ।
समानुपातिकतर्फको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट जित्दै अग्रस्थान हासिल गरेको छ। त्यसैगरी नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले समान ४–४ सिट प्राप्त गरेका छन्।
आयोगले साँझ ५:३० बजे आफ्नो केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी निर्वाचनबारे थप जानकारी सार्वजनिक गर्ने कार्यक्रम समेत राखेको छ।






