काठमाडौँ, १४ असोज । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीतका काम भए/नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ ।
आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरूको अनुगमन गर्ने उद्देश्य राखेर ‘प्रेस अफिस’ स्थापना गरेको हो ।
आज आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गरेका हुन् ।
प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले यो अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न काम गर्ने बताए । त्यस्तै चुनावसँग सम्बन्धित कुराहरूको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता विपरीतका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने उनको भनाइ छ ।
प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमको अनुगमन नगर्ने स्पष्ट पारेका हुन् । आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उनको भनाइ छ ।
उनले कस्ता विषयवस्तुहरू गइराखेका छन् र त्यो विषयवस्तुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिकरूपमा विश्लेषण गर्ने स्पष्ट पारेका छन् ।