झापा, २६ कात्तिक । नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अङ्कुश लगाउने कामको विरोध गरेका छन् । उनले नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभाको शुक्रबार बिर्तामोडमा उद्घाटन गर्दै सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चार माध्यममाथि अङ्कुश लगाउने काम गर्नु आपत्तिजनक भएको बताए ।
अध्यक्ष पोखरेलले सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयलाई लिएर जथाभावीरूपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनुपर्ने बताए । उनले भने, “प्रेस काउन्सिलबाहेक राज्यका कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मीमाथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार छैन ।”
नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ १ नं प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अमर खड्का, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा महासङ्घ झापा शाखाले प्रकाशन गरेको चौथो अङ्ग नामक बुलेटिन विमोचन गरिएको थियो ।







