Logo

निर्वाचन आयोगविरुद्ध बालेन शाहले दिए सर्वोच्चमा रिट



काठमाडौँ, १९ पुस । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन खर्च विवरण नबुझाएको भन्दै जरिवाना गर्ने आयोगको निर्णयविरुद्ध बालेनले रिट दायर गरेका हुन् ।

आयोगले मेयर बालेनसहित सयौं उम्मेदवारलाई निर्वाचन खर्च नबुझाएको भन्दै जरिबाना गर्ने निर्णय गरेको थियो।

उनले आफूले कानुनले तोकेको समयभित्रै खर्च विवरण बुझाएको दाबी गरेका छन्।

‘म निवेदकले ३० दिने म्यादको अन्तिम दिनमा विदा परेमा त्यसको लगत्तै अड्डा खुलेको पहिलो दिनमा विवरण पेश गर्न सकिने कानुनी आधार रहेको हुँदा सोही बमोजिम खर्च विवरण पेश गरेका थिएँ ।’ उनले रिटमा उल्लेख गरेका छन् ।

उनले आयोगले तोकेको सीमा भन्दा पनि आधा मात्रै खर्च गरेको पनि दाबी गरेका छन् ।

आयोगले महानगरको मेयर उम्मेदवारले ७ लाख ५० हजार खर्च गर्न पाउने सीमा निर्धारण गरे पनि आफूले ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ मात्रै खर्च गरेको उनले रिटमा जिकिर गरेका छन्।

बालेनले स्थानीय चुनावमा भाग लिने देशभरका १ लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिबाना गर्ने र ६ महिनाभित्र नबुझाए ६ वर्षसम्म कुनै निर्वाचनमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी गरेको आयोगको निर्णय बदरको माग रिटमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्