काठमाडौं, ९ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ।
चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालयमा पुगेर अनुगमन तथा छलफल गर्ने भएको हो।
सरकारी टोलीले बुधबार दलहरूसँग निर्वाचनको तयारी, वर्तमान राजनीतिक वातावरण तथा सहकार्यका सम्भावनाबारे प्रत्यक्ष छलफल गर्ने जनाएको छ। समितिको तय कार्यक्रमअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर संवाद गरिनेछ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्। समितिले यसअघि प्रमुख राजनीतिक दलहरूसँग पनि चरणबद्ध रूपमा संवाद गरिसकेको छ।
सरकारका प्रवक्ता खरेलले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सहभागीमूलक बनाउन दलहरूसँग निरन्तर संवाद अघि बढाइएको बताए। उनका अनुसार दलहरूको चासो, सुझाव र चिन्तालाई समेट्दै सकारात्मक चुनावी माहोल निर्माणमा सरकार सक्रिय रूपमा जुटेको छ।
यसअघि समितिले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालयमा पुगेर शीर्ष नेताहरूसँग प्रत्यक्ष छलफल गरिसकेको छ। ।







