काठमाडौं, १९ माघ । आगामी आमनिर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले नक्कली नेपाली र भारतीय रुपैयाँ नेपाल भित्र्याउने तयारीमा रहेको ठूलो अन्तर्राष्ट्रिय गिरोह भारतमा पक्राउ परेको छ।
नेपाल–भारत सीमा नजिकै रक्सौल आसपास क्षेत्रमा सक्रिय उक्त समूहलाई पूर्वी चम्पारण प्रहरी र विशेष कार्यदल (एसटिएफ) को संयुक्त टोलीले भारतको सीतामढी जिल्लाको मेजरगञ्जबाट नियन्त्रणमा लिएको हो। सो क्रममा अत्याधुनिक प्रविधिबाट नक्कली नोट छाप्ने गोप्य कारखानासमेत फेला पारेर ध्वस्त पारिएको प्रहरीले जनाएको छ।
छापामारीका क्रममा करिब २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १८ हजार ५०० रुपैयाँ बराबरका नक्कली भारतीय नोट तथा नोट छाप्न प्रयोग हुने हाईटेक मेसिन बरामद गरिएको छ। साथै कागज, रसायन र अन्य सामग्रीसमेत जफत गरिएको भारतीय सुरक्षाकर्मीहरूले बताएका छन्।
घटनामा संलग्न १० जनालाई पक्राउ गरिएको छ, जसमा तीन जना नेपाली नागरिक रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नक्कली नेपाली रुपैयाँ नेपाल भित्र्याउने योजना बनाइएको खुलासा भएको छ।
प्रहरीले तीनवटा मोटरसाइकल र एउटा कार पनि नियन्त्रणमा लिएको छ। गिरोहका अन्य सदस्य र मुख्य योजनाकारको खोजी तीव्र पारिएको जनाउँदै नक्कली नोटको कारोबारले राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमा गम्भीर असर पार्ने भएकाले दोषीलाई कडाभन्दा कडा कारबाही गरिने स्पष्ट पारेको छ।






