Logo

निर्वाचन लोकतन्त्रको जीवन पद्धति: थपलिया



काठमाडौँ, ३१ साउन । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय समाचार समितिले आज केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ राससले योगदान दिने विश्वास व्यक्त गरेका थिए ।

“विश्वसनीयताको अर्को नाम रासस हो भन्ने फिलिङ मरिसकेको छैन । यो अवसरलाई निर्वाचनका समयमा उपयोग होस् । सूचना बैङ्कका रुपमा यसले मुलुकका हरेक घटना र समयको सजीव चित्र प्रस्तुत गरिरहन सकोस् । त्यसका लागि आयोगबाट हुने सहयोग र पहुँचमा कमी गरिने छैन ।” राससका व्यवस्थापक, सम्पादक र समाचारदाता सहभागी कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने, “लोकतन्त्र, मानवअधिकार, विकास, समृद्धि र निर्वाचनजस्ता हरेक सवालका घटनालाई नियाँलेर लिपिबद्ध गर्ने रासस नेपालको एक जिउँदो इतिहास बोकेको संस्था हो । देशभरिका प्रतिनिधिको सञ्जाल परिचालन र केन्द्रमा निर्वाचनसम्बन्धी डेस्क खडा गरी एक सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन केन्द्रित गतिविधिलाई अझ प्रभावकारीरुपमा पस्कन तपाइँहरु लाग्नुहोला ।”

स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरु स्वतः अन्त्य हुनाका साथै संविधान र कानुनले तोकेबमोजिम पाँचवर्षे कार्यावधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र सङ्घीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्