Logo

निलम्बित प्रधानन्यायाधीश जबराले सफाइ पाइसके: ओली



काठमाडौँ, २ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् ।

बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए ।

“हिजो संसद्को अधिवेशन समाप्त भयो । अधिवेशन समाप्त मात्र भएन यो संसद्को कार्यकाल समाप्त भयो । त्यसो भएपनि त्यो महाभियोग पारित भएन । दर्ता भयो र पारित भएन भने त कुरा सिद्धियो,” ओलीले भने, “त्यसमा सत्ता पक्षले उहाँलाई ढिलो गरेर सफाइ दियो । प्रक्रिया अघि नबढाएर सफाइ दियो ।”

उनले प्रस्ताव दर्ता गरेर पारित नगर्नु भनेको सत्तापक्ष आफैँले थापेको पासोमा परेर सफाइ दिएको बताए ।

‘अर्को संसद्ले लिनेगरी प्रतिवेदन बुझाएको छ नि ?’ भन्ने प्रश्नमा ओलीले सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गरे । “अच्छा त्यसले पनि पारित गरेन भने? अर्को सभामुखले पनि घर्रामा राख्यो भने फेरि अर्को संसद्ले गर्ने ?,” प्रश्न गर्दै ओलीले भने, “तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्छ । यो जिन्दगी भरि चलाउने विषय होइन । कार्यकाल हुन्छ, अवधि हुन्छ, संसदीय प्रक्रिया टुंग्याउने विधि हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्