काठमाडौँ, ३ असोज । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षाका लागि राखिएका सबै प्रहरीलाई फिर्ता बोलाइएको छ ।
एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार उनको सुरक्षामा खटिएका सबै प्रहरी फिर्ता बोलाइएको छ ।
त्यसैगरी प्रधानन्यायाधीशको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी हुनका लागि राज्यले दिएको गाडी पनि खोसिएको छ ।
“औपचारिक कार्यक्रममा सहभागी हुँदा प्रयोग हुने गाडी पनि फिर्ता बोलाइएको छ,” ती अधिकारीले भने, “सुरक्षाका लागि खटिएका प्रहरी पनि आइतबार राति नै फिर्ता भएका हुन् ।”
उनका अनुसार माथिको निर्देशनमा फिर्ता बोलाइएको हो । गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार राणालाई सरकारी निवास छाड्न पनि केही दिनमै निर्देशन दिइनेछ । नमाने उनलाई हटाउने तयारी गरिएको ती अधिकारीले जानकारी दिए ।
प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार उनको निवास बाहिर प्रहरीले निगरानी जारी राखेको छ ।







