काठमाडौँ, १६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिएका छन् । उनको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान हुने तय भएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठमा आज दुई वटा प्रश्नमा मात्र छलफल भएको छ । बुधबारदेखि सुरु भएको बयानमा आजसम्म कूल छ वटा प्रश्नमा मात्र सवालरजवाफ भएको छ । कूल प्रश्न ४३ वटा रहेका छन् । त्यसमध्ये बुधबार चार प्रश्नमा सवालरजवाफ भएको थियो ।
बयानपछि समितिका सदस्य मीन विश्वकर्माले आजको पाँचौँ र छैटौँ प्रश्न अलि लामो र व्याख्यात्मक भएकाले समय लागेको जानकारी दिए । “प्रश्नहरु पनि लामै थिए, प्रधानन्यायाधीशको जवाफ पनि लामो नै रह्यो, प्रश्न, प्रतिप्रश्न हुने क्रम भइरह्यो”, उनले भने, “राणालाई न्यायसम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र न्यायसम्पादनको प्रक्रियामा भ्रष्टाचार केन्द्रित प्रश्न सोधिएको थियो ।”







