काठमाडौँ, ३१ भदौ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक बयान लिन सुरु गरेको छ । बयान दिन जबरा शुक्रवार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन् ।
समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग यसअघि ४३ वटा प्रश्न सोधिसकेको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो।
बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए । जबराले नाम लिएका सात जना वकिलसँग समितिले सोधपुछ गरेको थियो । सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्व प्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू भने उपस्थित भएनन् ।
जबराविरुद्ध सत्तारुढ दलका सांसदले फागुन १ गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएकाा थिए ।
हालसम्मको बयानमा जबराले महाभियोग निष्क्रिय भइसकेको दाबी गरेका छन् । आफू विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उनले दाबी गर्दै आइरहेका छन् ।






