Logo

निसान्काको विष्फोटक शतकमा श्रीलंकाले अष्ट्रेलियालाई ८ विकेटले हरायो



काठमाडौं, ४ फागुन ।  टी–२० विश्वकपमा आयोजक श्रीलंकाले अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जीतको यात्रा जारी राख्यो। १८३ रनको लक्ष्य श्रीलंकाले १२ बल बाँकी छँदा दुई विकेट गुमाएर पूरा गर्यो।

पथुम निसान्काको ५२ बलमा अविजित १०० रनको शतकीय पारीले टोलीलाई जिततर्फ अघि बढायो। उनको पारीमा १० चौका र ५ छक्का रहेका थिए। निसान्का विश्वकपमा शतक बनाउने दोस्रो श्रीलंकाली खेलाडी बनेका छन्, यसअघि २०१० मा माहेला जयवर्दनेले शतक बनाएका थिए।

कुशल मेन्डिसले ३८ बलमा ५१ रन जोड्दै टीमको स्थिरता कायम राखे। पवन रत्नायकेले २८ रन अविजित योगदान दिए।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले दुई विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया २० ओभरमा १८१ रनमा अलआउट भयो। कप्तान मिचेल मार्शले २७ बलमा ५४ रन, ट्राभिस हेडले २९ बलमा ५६ रन बनाए। जोस इङ्लिस र ग्लेन म्याक्सवेलले क्रमशः २७ र २२ रन बनाए।

बलिङतर्फ दुशान हेमन्थले तीन विकेट लिए भने दुश्मन्था चमिराले दुई विकेट हात पारे। दुनिथ वेल्लालागे, कामिन्दु मेन्डिस र महिश तिक्षणाले एक–एक सफलता हात पारे।

श्रीलंकाको यो जितले टोलीलाई सुपर–एट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्