काठमाडौँ, १४ जेष्ठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले संसदमा ल्याएको नीति तथा कार्यक्रम गठबन्धन सरकार जस्तै गन्तव्यहीन रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै गठबन्धनको सरकारको कारणले मुलुक र जनतामाथि गम्भीर धोका भएको बताएका हुन् ।
उनले भने, ‘ओली सरकारलाई षडयन्त्र गरेर हटाएर गठबन्धन सरकार बनेको हो । गठबन्धन सरकारको कारणले मुलुक र जनतामा धोका भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि गठबन्धन सरकार जस्तै गन्तव्यहीन छ । इतिहासकै सबैभन्दा कमजोर मुलुकको समस्या नचिनेको छ ।’
उपाध्यक्ष पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसदमा छलफल गरेर संसदको समय मात्रै बर्बाद भएको आरोप लगाए । देशको अर्थतन्त्र संकटमा रहेको बेलामा नीति तथा कार्यक्रम त्यसतर्फ बेखबर रहेको उनको भनाइ छ ।