काठमाडौँ, १९ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन् ।
विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए । आचारसहिंता अरुलाई लागेजसरी नै मलाई पनि लाग्छ सोच्नुपर्नेमा उनले जोड दिए । देशमा स्वतन्त्रता र सुशासन सँगसँगै अघि बढाउनुपर्नेमा मन्त्री कार्कीको भनाइ छ ।
उनले भने, “देश विकसित, सभ्य र सुन्दर बनाउन अनुशासन पहिलो प्राथमिकता हो ।” आचारसहिंतामा जुनजुन ठाउँमा अप्ठेरो, अस्प्रष्टता र अघि बढ्न व्यवधान छन् तिनलाई हटाउन मन्त्रालय साथमा रहेको मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । आजदेखि लागू भएको आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले उल्लेख गरे । आचारसहिंता जति धेरै विचार, विमर्श, छलफलबाट ल्यायो कार्यान्वयन गर्न त्यति नै सजिलो हुने मन्त्री कार्कीको भनाइ छ ।







