नुवाकोट, २९ पुस । नुवाकोटमा रहेका सबै क्रसर तथा बालुवा प्रशोधन उद्योग अवैध पाइएसँगै ताला लगाइएको छ ।
गृह मन्त्रालयको यही पुस २० को निर्देशनपछि पुस २४ मा गठित अनुगमन समितिले जिल्लाका क्रसर र बालुवा प्रशोधन उद्योगमा ताला लगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।
उनको अनुसार जिल्लाका क्रसर उद्योग कानुनी मापदण्डअनुरुप सञ्चालनको अवस्था बुझ्न सहायक प्रजिअको नेतृत्वमा गठन गरिएको अनुगमन समितिको अनुगमनमा हालसम्म २२ वटामा ताला लगाएको छ ।
अनुगमनका क्रममा यसअघि निर्बाध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगको समेत मापदण्ड पूरा नभएको पाइएको छ भने केही उद्योग दर्ता नै नभई सञ्चालन गरिएकाले बन्द गरिएको उल्लेख छ ।
अनुगमनका क्रममा ताला लगाइएको २२ उद्योगमध्ये चार वटा उद्योग दर्ता नै नगरी सञ्चालनमा रहेको पाइएको छ भने एकवटा उद्योगको नाम र सञ्चालक समेत पत्ता लगाउन नसकेको प्रजिअ रिसालले जानकारी दिए ।






