नुवाकोट, ४ फागुन । नुवाकोटको विदुर नगरपालिका-१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
विदुर-४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका-१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदुर-१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।
उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका-६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर-३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।






