Logo

नेकपाले झापाका दुई क्षेत्रमा उम्मेदवार तय गर्‍यो, घिमिरे र तामाङलाई टिकट



झापा, ३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापाका दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर १ बाट इन्जिनियर अशेष घिमिरे र क्षेत्र नम्बर ५ बाट विद्यार्थी नेता रञ्जित तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहित शीर्ष नेतृत्वले दुबै उम्मेदवारलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका थिए।

झापा–१ बाट मैदानमा उत्रिएका अशेष घिमिरे युवा पुस्ताका नेता हुन्। यही क्षेत्रबाट विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए।

यता झापा–५ मा नेकपाका तर्फबाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलाई उम्मेदवार बनाइएको छ। यो क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ, जहाँ उनी २०७९ को निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका थिए।

आगामी निर्वाचनमा ओली, नेकपाका तामाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समेत उम्मेदवारीको तयारीमा रहेको चर्चाले झापा–५ लाई देशभरको चासोको केन्द्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्